Amalabot Online

मान्छे खाने बाघ समाउँदा आडैमा भेटियो अर्को मान्छेको शव

चितवन ।मान्छे खाने बाघलाई समाउन गएको चितवन राष्ट्रिय निकुञ्जको टोलीले अर्काे मान्छेको शव पनि फेला पारेको छ । राप्ती नगरपालिका–१ दुबिचौरका ४३ वर्षीय हरि पौडेललाई शुक्रबार बाघले आक्रमण गरी मारेको थियो ।

सोहि बाघलाई निकुञ्जको टोलीले आइतबार समाउँदा बाघको आडैमा अर्काे व्यक्तिको पनि शव फेला पारेको हो ।दुविचौरनजिकैको मकवानपुर जिल्ला मनहरी गाउँपालिका–६ मा पर्ने निकुञ्जको मध्यवर्ती क्षेत्र जोगीतालमा घाँस काट्न गएका पौडेललाई बाघले आक्रमण गरेको थियो । उक्त घटनापछि बाघलाई नियन्त्रणमा लिन निकुञ्जको टोली खटिएको थियो । मान्छे मार्ने बाघ आइतबार राति पौने ९ बजेतिर नियन्त्रणमा आएको चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी रहेका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारीले बताए ।

तिवारीका अनुसार बाघको आडैमा भेटिएको अर्काे शवको कम्मरदेखि माथिल्लो भाग छैन । अन्दाजी १८÷२० वर्षको युवकको शव भएको अनुमान गर्न सकिने चितवन राष्ट्रिय निकुञ्जको लोथर मध्यवर्ती उपभोक्ता समितिका अध्यक्ष मानबहादुर स्याङ्बोले बताए ।

‘शुक्रबार घटना भएकै दिनदेखि गाउँका एक जना युवक हराइरहेका छन् । शरीरको माथिल्लो भाग छैन । तल्लो भागको कपडा र अन्य संकेतका आधारमा पहिचान गर्न खोजिँदैछ । अन्य परिष्कृत विधिको पनि सहारा लिइन्छ,’ अध्यक्ष स्याङ्बोले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *