Amalabot Online

मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरपालिका बीच भगिनी सम्बन्धको समझदारी पत्र आदानप्रदान

सागर भण्डारी, गुल्मी । गुल्मीको मुसिकोट नगरपालिका र जापानको बुङ्गोओनो नगरबीच भगिनी सम्बन्ध कायम भएको छ । मुसिकोट नगरपालिकाको तर्फबाट नगरप्रमुख जीवलाल खरेल जीवन र जापानको ओइता प्रान्तको बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोबीच भगिनी सम्बन्ध कायम गर्ने गरी बिहिवार ३ बुँदे मैत्रीपूणर् समझदारी पत्रमा संयुक्त हस्ताक्षर गरिएको हो ।

समझदारी पत्रमा दुवै नगरले आ-आफ्नो देशको कानुनी व्यवस्था बमोजिम पारस्परिक समानताका आधारमा मैत्रीपूर्ण आदान प्रदान र सहयोपूर्ण सम्बन्ध स्थापना गर्ने र कृषि लगायतका विभिन्न क्षेत्रका विषयहरुमा दुवै नगरले समानता र पारस्परिक लाभको सिद्धान्तमा रही सहयोगको आदान प्रदान गर्ने र साझेदारी मार्फत काम गर्ने उल्लेख गरिएको छ ।

त्यस्तै दुवै पक्षले सहयोग र आपसी आदान प्रदान कार्यलाई प्रवद्र्धन गर्न सारभूत प्रयासहरु गर्ने र आवश्यक परेमा थप विषयवस्तु उपर छलफल गर्ने समझदारी भएको छ । समझदारीपत्र हस्ताक्षर कार्यक्रमलाई सम्बोधन गर्दै बुङ्गोओनो सिटीका नगर प्रमुख फूमितोशि खवानोले दुई देशबीच व्यवसायीक सीप आदान प्रदान, पर्यटन, उद्योगको सम्भाव्यता लगायतका विषयमा छलफल गरिने बताउनुभयो । उहाँले वैदेशिक रोजगारीमा यहाँको जनशक्ति लान सकिने विषयमा पनि सोँच्ने बताउनुभयो ।

ग्वादिकाचौर स्थित सभाहलमा आयोजित कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरप्रमुख जीवन खरेलले नेपाल र जापान दुई राष्ट्रका बीचमा निकै पुरानो दौत्य सम्बन्ध रहेको तथा हाल नेपालका विभिन्न ठाउँ र मुसिकोट नगरपालिकाबाट जापानमा गएका प्रवासीहरुबाट व्यवसायिक र पेशागत एवम् पारिवारिक सम्बन्ध रहेको भन्दै भगिनी सम्बन्धले झनै प्रगाढ सम्बन्ध बनाएको बताउनुभयो ।

उहाँले कृषि प्रविधि, उत्पादनमूलक उद्योगमा लगानी र आधुनिक सीपयुक्त जनशक्ति विकास र उत्पादनको बजार तथा शासन प्रसाशन सञ्चालनमा एकले अर्कालाई आफ्नो अनुभव र दक्षता दिने लिने कुराले दुई नगरको बीचमा माया र सद्भाव बढ्नुका साथै मुसिकोट नगरपालिकाको दक्षता विकासमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो । यो समझदारीले आगामी दिनमा दुई देश र दुई नगरबीचमा बलियो र प्रगाढ सम्बन्ध बन्ने विश्वास व्यक्त गर्नुभयो ।

भगिनी सम्बन्धका लागि बुङ्गोओनो सिटीका नगर प्रमुख खावानो फूमितोसी सहित ५ सदस्यीय भ्रमणदलका सदस्यहरु मुसिकोट आउनुभएको थियो । उहाँहरुलाई बिहिवार होटल दरबारमा आयोजित एक कार्यक्रममा भव्य स्वागत गरिएको थियो । कार्यक्रममा मुसिकोटको पहिचान आँपचौरको कफीको विशेषताका विषयमा प्रस्तुती दिनुहुँदै प्रा.डा.ताराप्रसाद सापकोटाले भगिनी सम्बन्धलाई कायम राख्दै दुवै नगरले आपसी पारस्परिक लाभ लिन आग्रह गर्नुभयो ।

भगिनी सम्बन्ध कायम गर्न तत्कालिन मेयर सोमनाथ सापकोटा र वडाध्यक्ष प्रकाश काफ्ले तथा नारायण सापकोटाले उक्त नगरको भ्रमण गरी पहल गर्नुभएको थियो । त्यस्त जापानमा कृषि व्यवसाय गर्नुहुने युवा व्यवसायीहरु रोशन केसी र सुरेश केसीले समेत पहल गर्नुभएको थियो ।

कार्यक्रममा मुसिकोट नगरपालिकाका नगरउपप्रमुख गंगा श्रेष्ठ, पूर्व नगरप्रमुख सोमनाथ सापकोटा, पूर्व नगरउपप्रमुख कमला शर्मा, प्रमुख प्रशाशकीय अधिकृत बिनोद कुँवर, वडाध्यक्ष, कार्यपालिका सदस्यहरु, वडासदस्य लगायत जनप्रतिनिधि तथा स्थानीयको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन बिष्णु प्रसाद खरेलले गर्नुभएको थियो ।

भगिनी सम्बन्ध कायम पश्चात आजै उक्त जापानी प्रतिनिधि मण्डल कफीको जननी मानिने आँपचौरको तल्लाफाँट स्थित कफी विकास केन्द्रमा रहेको कफी बगानको अवलोकन गर्न समेत पुगेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *