
गुल्मी: गुल्मीको मुसिकोट नगरपालिकामा प्रथम मेयर रनिङ कप २०८० को अन्तर स्थानीय तह खुल्ला पुरुष भलिबल प्रतियोगिता कार्तिक २२ अर्थात बुधबारबाट सुरु भएको छ। मुसिकोट नगरपालिकाका मेयर जिवलाल खरेल जीवनको अध्यक्षतामा भएको उक्त कार्यक्रमको उद्घाटन लुम्बिनी प्रदेश सांसद डिल्लीराज भुसालले गरेका हुन् । कार्यक्रममा स्वागत मन्तव्य मुसिकोट नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्री क्षेत्रीले राखेका थिए ।
सोहि कार्यक्रममा गुल्मी जिल्लाका पहिलो भलिबल खेलाडी छवि खरेल र जिल्ला खेलकुद विकास संघको आयोजनामा केही दिन अगाडी तम्घासमा भएको १० कि.मि दौड प्रतियोगीतामा प्रथम स्थान हासिल गर्ने मुसिकोटका खेलाडी भुवन खत्रीलाई समेत सम्मान गरिएको थियो ।

यस्तै कार्यक्रममा स्वागत गित स्थानिय कलाकार दुर्गामाया भर्तालको समुहले राखेका थिए। भने उक्त कार्यक्रममा राष्ट्रिय कलाकार उज्ज्वल गिरि र विस्णु श्रीपालीले आफ्नो साङ्गितिक प्रस्तुति समेत राखेका थिए । कार्यक्रमको उद्घाटन सत्र पछि उद्घाटन खेल रेसुङ्गा नगरपालिका र आयोजक टिम मुसिकोट नगरपालिका बिच भएको थियो।


प्रतियोगीतामा १० समुहले सहभागिता जनाएका छन् । जसमा मुसिकोट नगरपालिका,चन्द्रकोट गाउँपालिका,रेसुङ्गा नगरपालिका , मदाने गाउँपालिका, मालिका गाउँपालिका , कालीगण्डकी गाउँपालिका, गुल्मी र निसिखोला गाउँपालिका, बडिगाढ गाउँपालिका, गल्कोट नगरपालिका, तमानखोला गाउँपालिका बाग्लुङ्गका रहेका छन् ।
डेढ लाख रुपैयाँको ठुलो धन राशीको विजेता पुरस्कार भएकोले पनि यो प्रतियोगितालाई जिल्लावासीले निकै रोचक ढङ्गले हेरिरहेका छन । भने उपविजेता पुरस्कार राशि एक लाख रहेको छ। कार्यक्रममा पुर्व नगर प्रमुख सोमनाथ सापकोटा, पुर्व उप-प्रमुख कमला शर्मा, वर्तमान उपमेयर गङ्गा श्रेष्ठ, जिल्ला समन्वय सदस्य सावित्रा भण्डारी,नेकपा माओवादी नगर कमिटी अध्यक्ष युवाराज खरेल, प्रमुख प्रशासकिय अधिकृत विनोद कुँवर लगायतको विशेष आतिथ्यता रहेको थियो। मुसिकोट नगरपालिकाको ४ नम्बर वार्डमा रहेको ग्वादिकाचौर खेल मैदानमा उक्त प्रतियोगिताका कार्यक्रमहरुको संचालन गरिएको छ ।



