Amalabot Online

तानसेन १३ मा एकिकृत घुम्ति शिविर, २ हजार बढी लाभान्वित

पाल्पा, चैत २७।घरदैलोमा जनतालाई सबै प्रकारका सेवाहरु प्रवाह गर्ने उद्देश्यले तानसेन नगरपालिका १३ मा घुम्ति शिविर कार्यक्रम सञ्चालन गरिएको छ । एक दिने घुम्ती शिविरबाट दुई हजार बढी जनता लाभान्वित भएका छन् । तानसेन नगरपालिकाका नगरप्रमुख सन्तोषलाल श्रेष्ठले जनतालाई घरदैलोमै कृषि, पशु, स्वास्थ्य, सिफारिस तथा घटना दर्ताका सेवा प्रदान गरिएको बताए । उनी भन्छन्, निर्वाचनको घोषणा पत्र अनुसारका कार्यक्रमलाई प्राथमिकता दिँदै काम गरिरहेका छौं । ग्रामीण इलाकाहरुलाई केन्द्रीत गरेर घुम्ति शिविरलाई निरन्तरता दिने योजना बनाएका छौं ।

विषयगत रुपमा प्रदान गरिएका सेवाको निम्न अवस्था रहेको छ । शिविरमा पशु सेवा तर्फ १ सय २ घरधुरीका ९ सय ५० पशुपंक्षीलाई सेवा प्रदान गरिएको छ । जसमा जुकामाटेको औषधी वितरण, गोबर नमूना परीक्षण र परामर्श सेवा दिइएको थियो । कृषि विकास सेवा तर्फ १ सय ६३ घरधुरीलाई तरकारी विऊ वितरण, १ सय १२ रोगीबालीको अवलोकन गरी वाली उपचार सेवा प्रदान गरिएको छ । कृषि परामर्श सेवा समेत प्रदान गरिएको छ ।

यस्तै स्वास्थ्य सेवा तर्फ ५५ जनाको भीआइए परीक्षण, १ सय २० जनाको स्वास्थ्य परीक्षण (३२ जनामा सुगर, ३१ जनामा उच्च रक्ताचाप) तथा उपचार र औषधि वितरण तथा आङ खसेकाहरुको उपचार समेत गरिएको शिविरका संयोजक तथा नगरपालिकाका योजना शाखा प्रमुख दुर्गा बहादुर थापाले बताए । शिविरमा महिला ३५ र पुरुष २५ जना जेष्ठ नागरिक परिचय पत्र वितरण, एन्जाइटी भएका ३ जनालाई परामर्श सेवा, ७ वटा जन्म दर्ता, एक विवाह दर्ता, २८ वटा सिफारिस गरिँदा ३३ हजार १ सय ५ रुपैयाँ सम्पत्ति तथा मालपोत कर संकलन गरिएको छ । तानसेन १३ का वडा अध्यक्ष श्री टुक प्रसाद भट्राईको अध्यक्षता, नगर प्रमुख सन्तोषलाल श्रेष्ठको प्रमुख आतिथ्यता, प्रमुख प्रशासकीय अधिकृत हरिराम नागिलालको उपस्थितिमा औपचारिक कार्यक्रम गरि शिविर गरिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *