सागर भण्डारी, गुल्मी । सुक्खा सिजनमा गुल्मीको मुसिकोट नगरपालिकाको केन्द्र वडा नं ७ स्थित वामीटक्सार बजारमा हुने खानेपानीको अभाव टार्न डिप बोरिङ मार्फत खानेपानी निकालिएको छ ।
वडा नं ७ वडा कार्यालयले १ सय ४५ मिटर गहिरो जमिनबाट पानी तानेर बजारमा वितरण गर्न लागेको हो । बोरिङ प्रविधि मार्फत निकालिएको पानीको बिहिवार सफल परिक्षण गरिएको छ ।
वामीटक्सार स्थित जिपपार्क नजिकै सडक माथि डिप बोरिङ मार्फत खानेपानी निकालिएको हो । करिब १ सय ४५ मिटर गहिरो खाडल निर्माण गरी पानी तानिएको छ । भारतिय इन्जिनियरसहितको प्राविधिक टोलीले करिब एक महिना लगाएर उक्त क्षेत्रमा पानी भए नभएको परीक्षण गरेको थियो । त्यसपश्चात मेसिन सहित खाडल खनेर पाईप राख्ने काम भएको थियो । ६०मिटरको गहिराईमा मटर जडान गरिएको छ ।
डिप बोरिङ मार्फत अहिले प्रतिसेकेन्ड ७ देखि ९ लिटरका दरले पानी निस्किएको मुसिकोट नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का वडाध्यक्ष हरिहर सापकोटाले जानकारी दिनुभयो । वामीटक्सार बजारमा अहिले लिफ्टिङ आयोजना मार्फत खानेपानीको आपूर्ति हुँदै आएको छ ।
गर्मीयाम सुरू भएसँगै बजारमा पानीको अभाव हुँदै आएको छ । त्यसको समाधान गर्न बोरिङ गरी पानी निकालिएको हो । अब बोरिङ मार्फत निकालिएको पानी एक घर एक धारामा जडान गरी वितरण गरिने वडाध्यक्ष सापकोटाको भनाई छ । खानेपानी यसैपनि शुद्ध हुने प्राविधिकहरु र जानकारहरुले बताएपनि उक्त प्रविधि मार्फत निस्किएको खानेपानीको शुद्धिकरण मापनका लागि प्रयोगशालामा समेत पठाईने उहाँको भनाई छ ।
१७० मिटर गहिराइबाट पानी निकाल्न ४ इन्चको पाइप गाडिसकिएको छ भने मोटर जडान गरिएको छ । उक्त आयोजना निर्माणका लागि २१ लाख खर्चको अनुमान गरिएकोमा १६ लाख रुपैयाँ मुसिकोट नगरपालिकाले विनियोजन गरेको र बाँकी ३० प्रतिशत भने उपभोक्ताको लगानी रहने वडाध्यक्ष सापकोटाले बताउनुभयो ।
वामीटक्सार बजारमा हाल करङखोला मौरीभिर खानेपानी संस्था मार्फत खानेपानी आपूर्ति हुँदै आएको छ । पिउनका लागि त्यति उपयुक्त नभएपछि उक्त आयोजनाको ट्याङ्कीमा शुद्धिकरण फिल्टर जडानको प्रक्रिया पनि अगाडी बढेको छ । यद्यपी यो बोरिङ खानेपानी सञ्चालनमा आएपछि यही पानी नै खानेपानीको रुपमा वितरण गर्ने वडाले योजना बनाएको छ ।