
गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकामा नगरस्तरीय छैठौँ राष्ट्रपति रनिङ शील्ड प्रतियोगीता सोमबार देखि सुरु भएको छ ।
नगर खेलकुद विकास समितिको आयोजनामा वडा नं-४ स्थित ग्वादिकाचौर खेल मैदानमा सुरु भएको प्रतियोगीताको नगरप्रमुख जीवलाल खरेल जीवनले उद्घाटन गर्नुभएको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै नगरप्रमुख खरेलले खेलाडीहरुलाइ उत्साहका साथ खेलमा सहभागी भई भविष्यमा ठुला खेलहरूमा प्रतिष्प्रधा गर्ने गरी तयारी अवस्थामा रहन आग्रह गर्नुभयो । विगतका वर्षहरुमा जस्तै जिल्ला स्तरीय प्रतियोगीतामा समेत उत्कृष्ट खेलहरु प्रदर्शन गर्दै प्रथम बन्न आग्रह गर्दै उहाँले त्यस्ता खेलाडीहरुलाई नगरपालिकाले सम्मान गर्ने स्पष्ट पार्नुभयो ।
खेलकुद क्षेत्रमा नगरपालिकाले आवश्यक सहयोग गर्ने उहाँको प्रतिबद्धता थियो । “खेलमा निरन्तरता दिने गरि खेल्नुहोस्, त्यसमा सहयोग गर्न नगरपालिका तैयार छ, मनफुकाएर नगरले लगानी गर्नेछ’ नगरप्रमुख खरेलले भन्नुभयो । फरक प्रसंगमा उहाँले ग्वादिकाचौर खेल मैदानलाई रंगशालाको रुपमा विकास गर्ने गरी नगरपालिकाले योजना बनाएको बताउनुभयो ।

प्रतियोगिताको उद्घाटन समारोहमा विभिन्न विद्यालयका विद्यार्थीहरुले विभिन्न प्रस्तुति सहित मार्चपास गरेका थिए । विद्यार्थीहरुले मार्चपासमा आफ्नो विद्यालयको नाम र नेपालको राष्ट्रिय भण्डा लिएर सहभागी भएका थिए ।
तीन दिन सम्म चल्ने प्रतियोगीतमा पालिका भित्रका सामुदायिक र संस्थागत गरी माध्यमिक तहका १७ बिद्यालयका झण्डै १ हजार विद्यार्थी विभिन्न प्रतिष्प्रधामा सहभागी हुनेछन् । प्रतियोगीतामा विभिन्न ४ विधाका झण्डै १८ खेलमा प्रतिष्प्रधा हुने नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीले जानकारी दिनुभयो ।
पहिलो दिन छात्र/छात्रा भलिबल, छात्र/छात्रा कबड्डी लगायतका प्रतियोगीताहरु सञ्चालन भएका छन् । उद्घाटन सत्रमा नगर उपप्रमुख गंगा श्रेष्ठ, जिल्ला समन्वय समिति गुल्मीका उपप्रमुख सावित्रा भण्डारी, विभिन्न राजनैतिक दलका प्रमुख एवम् प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिधिनि, शिक्षक विद्यार्थी लगायतको उपस्थिति रहेको थियो ।
नगर खेलकुद विकास समितिका अध्यक्ष सन्दिप खत्रीको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले गर्नुभएको थियो ।

