Amalabot Online

वामी विश्व सम्पर्क मञ्चद्धारा ७ वटा विद्यालयका विद्यार्थीलाई छात्रवृत्ति !

गुल्मी । वामी विश्व सम्पर्क मञ्चले साविकको वामी गाउँविकास समिति भित्रका ७ वटा विद्यालयका विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेको छ ।

मञ्चले प्रत्येक वर्ष उपल्लो कक्षाबाट उत्कृष्ट अंक ल्याउने १ जना छात्र र १ जना छात्रालाइ जेहन्दार छात्रवृत्ति र १ जनालाई विपन्न छात्रवृत्ति गरी एक विद्यालयका ३ जनालाई छात्रवृत्ति प्रदान गर्दै आईरहेको छ ।

सोही कार्यक्रम बमोजिम आईतबार विद्यालयमै पुगेर छात्रवृत्ति प्रदान गरिएको वामी विश्व सम्पर्क मञ्चका अध्यक्ष रामचन्द्र सापकोटाले जानकारी दिनुभयो ।

जसमध्ये महेन्द्र आदर्श नमुना माध्यमिक विद्यालयका वामीटक्सारमा ४ जना विद्यार्थी र शारदा विद्या मन्दिर माध्यमिक विद्यालय वामीमैदान, जनज्योति प्राथमिक विद्यालय सेरा, मालारानी प्रा.वि.मालारानी, भगवती प्राथमिक विद्यालय काफलटोला, खड्क देवि प्राथमिक विद्यालय भलेका तथा कृष्णनारायण प्राथमिक विद्यालय परुवाका ३/३ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको हो ।

उत्कृष्ट अंक ल्याउने कक्षा १० अर्थात मा.वि तर्फका विद्यार्थीलाई प्रति विद्यार्थी नगद रु. ५ हजार तथा अन्य उत्कृष्ट र विपन्न विद्यार्थीलाई नगद रु. २ हजार रुपैयाँ गरी कुल २२ जना विद्यार्थीलाई ५६ हजार छात्रवृत्ति प्रदान गरिएको वामी विश्व सम्पर्क मञ्चका कोषाध्यक्ष महेश्वर घिमिरेले जानकारी दिनुभयो ।

मञ्चले आफ्नो बैंक खातामा १२ लाख रुपैयाँ मुद्दती खातामा राखि त्यसबाट प्राप्त ब्याजबाट नियमित रुपमा छात्रवृत्ति वितरण गर्दै आईरहेको छ । वि.स. २०७१ सालदेखी सुरु गरिएको छात्रवृत्ति वितरण कार्यक्रम पहिलो वर्ष कृष्ण चालिसे दोश्रो वर्ष हेमु बोहोरा र तेश्रो वर्ष टंक कंडेलको सहयोगमा वितरण गरिएको थियो । वि.स. २०७६ सालबाट भने मञ्चले आफ्नै कोषबाट वितरण गर्दै आईरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *