Amalabot Online

गुल्मीको मुसिकोट नगरपालिकामा ‘हाम्रो मुसिकोट’ पुस्तक लागु

गुल्मी । गुल्मीको मुसिकोट नगरपालिकाले आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा पढाउने स्थानीय विषयको पाठ्यपुस्तक तयार गरेको छ । नगरले कक्षा १ देखि कक्षा ५ सम्म अनिवार्य विषयका रूपमा ‘हाम्रो मुसिकोट’ नामक उक्त पाठ्यपुस्तक पठनपाठन अघि बढाएको हो ।

नेपालको संविधानको भाग ३ मौलिक हक अन्तर्गत धारा ३२ को उपधारा (२) व (३) मा मुलुकको हरेक स्थानीय तहबाट आफू मातहत रहेका सामुदायिक र संस्थागत विद्यालयहरूमा स्थानीय पाठ्यक्रमका रूपमा आफैले एक विषय अध्ययन अध्यापन गराउन सकिने व्यवस्था गरिएको छ । मुसिकोट नगरपालिकाले सोही व्यवस्था अन्तर्गत यो पाठ्यपुस्तक तयार गरेको हो ।

नगरपालिकाले आफ्नो क्षेत्रभित्र रहेका सबै संस्थागत र सामूदायिक विद्यालयहरूमा कक्षा १ देखि ५ सम्म उक्त पठन-पाठन प्रक्रिया अघि बढाएको जानकारी दिएको छ । “हामीले गत वर्ष नै स्थानीय पाठ्यक्रम तयार गरेका हौँ, सोही पाठ्यक्रममा आधारित पाठ्यपुस्तक पनि तयार भएको छ,’ मुसिकोट नगरपालिकाका शिक्षा अधिकृत प्रकाश नेपालीले भन्नुभयो ।” पाठ्यक्रममा आधारित रहेर गत शैक्षिक सत्रबाटै पठन पाठन सुरु भएपनि यस शैक्षिक सत्रदेखि पाठ्यपुस्तकबाटै अध्यापन सुरु भएको उहाँको भनाई छ ।

मुसिकोट नगरपालिकाले आफ्नो क्षेत्र भित्र मानिने चाडपर्व, संस्कार संस्कृति, सीप कौशल, व्यवसाय, नैतिक शिक्षा, भौगोलिक प्रारुप, स्वास्थ्य र सरसफाई, रहनसहन, व्यक्तित्व परिचय, भाषा र लिपिजस्ता विषयबारे परिचित गराउने उद्देश्यले यो विषय राखिएको छ । त्यस्तै स्थानीय मौलिकता, भेषभूषा लगायतका विषय पनि समेटिएका छन् ।

कक्षा ६ देखि ८ सम्मको पाठ्यक्रम निर्माणको काम समेत यस आर्थिक वर्षबाट सुरु हुने शिक्षा अधिकृत नेपालीले बताउनुभयो । मुसिकोट नगरपालिका भित्र ६८ वटा सामुदायिक र ७ वटा संस्थागत विद्यालयहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *